काठमाडौंबाट झापा धाएर निःशुल्क उपचार

झापा,चिकित्सक भन्ने वित्तिकै पैसाको पछि लाग्ने प्राणी भनेर आलोचना गर्नेहरुको संख्या धेरै छ। तर, हाम्रै समाजमा यस्ता चिकित्सक पनि छन्, जसले काठमाडौंदेखि झापासम्म धाएर, विरामीको घरैमा गएर निःशुल्क उपचारसमेत गरिरहेका छन्।

१५ वर्षभन्दा लामो समयदेखि फलामे साङ्लोमा बाँधेर राखिएकी एक जना मानसिक रोगी महिलालाई तिनै चिकित्सकले निशुल्क उपचार गरेर बन्धनमुक्त पारेका छन्। झापा गरामनीकी ४० वर्षीया लक्ष्मी श्रेष्ठलाई मनोरोग विशेषज्ञ डा श्रीराम घिमिरेले निशुल्क उपचार गरेर पुर्नर्जीवन दिएका छन्।

पैसा अभावले उपचारका लागि अस्पताल लैजान सक्ने अवस्थामा नभएको परिवारले आफ्नी छोरी लक्ष्मीलाई १५ वर्षदेखि साङ्लोमा बाँधेर राखेको थियो। शुरु–शुरुमा धेरैतिर लगियो, धेरै पैसा पनि रुपैयाँ सकियो, लक्ष्मीकी आमा भवमायाले भनिन् त्यसपछि उपचार गराउने आर्थिक हैसियत पनि भएन । डाक्टरकोमा लैजाने आँट पनि आएन । उनका अनुसार ज्यादै अस्वाभाविक व्यवहार गर्ने र जथाभावी गर्न थालेपछि छोरीलाई बाँधेर राख्नुको विकल्प भएन ।

परिवारका अनुसार अहिले ४० वर्ष पुगेकी लक्ष्मीलाई १५–१६ वर्षको उमेरमै मानसिक समस्याले सताउन थालेको थियो । त्यसबेला धामीझाँक्रीको फुकफाक बाहेक अन्य उपचार हुनै सकेन । असामान्य व्यवहार गर्ने, घरबाट भाग्ने, मनमा जे आयो त्यही बोल्ने, डराउने, कराउने, आत्तिने, कपडा नलगाउने तथा अरुलाई दुर्व्यवहार गर्ने लगायतका समस्या देखिएपछि गाउँले र आफन्त सबैले धामीले नै ठीक पार्ने विश्वास व्यक्त गर्न थाले । त्यसबाट पनि समस्या बीसको उन्नाइस नभएपछि परिवारले ऋण काढेर छोरीलाई उपचारका लागि भारत र नेपालका विभिन्न ठाउँ लगे । केही महिनासम्म समस्या कम हुने तर बल्झिहाल्ने हुन थालेपछि परिवारले थप आर्थिक स्रोत जुटाउने अवस्था भएन । त्यसपछि उसलाई बाँधेर राख्नुको विकल्प भएनु, आमा भवमायाले भनिन् ।

यही क्रममा डा श्रीराम घिमिरे विपन्न श्रेष्ठ परिवारका लागि नयाँ आशा बनेर देखापरे । बहुसाँस्कृतिक मनोसामजिक संस्था नेपालमा कार्यरत मनोरोग विशेषज्ञ घिमिरेले काठमाडौंबाट झापा धाएर उनको निशुल्क उपचार गरेका हुन् । डाक्टर देख्नेवित्तिकै पैसा सम्झेर डर लाग्थ्यो, भवमायाले सम्झिइन् वर्षदिन अघि तपाइँको छोरीको निशुल्क उपचार गरिदिन्छु भन्दै डाक्टर घरैमा आए । शुरुमा विश्वास लागेन । उहाँले दिएको औषधि खुवाउँदै गयौं विस्तारै छोरी ठीक हुँदै गई । दुई महिना अघिदेखि साङ्लोबाट छुटाएका छौं । अहिले ठीक छ । शुरुमा लक्ष्मीको अवस्थाबारे विर्तामोडकै स्वास्थ्यकर्मी विनय डाँगीले डा घिमिरेलाई अवगत गराएका थिए । कमजोर आर्थिक अवस्थाका कारण बिना उपचार बन्धनमा रहेकी लक्ष्मीलाई भेट्न डा घिमिरे, मेची अञ्चल अस्पतालका डा राजु सेढाई र डाँगी घरैमा पुगेका थिए । टोलीले त्यही दिनदेखि उपचार थालेको थियो । त्यसपछि डा घिमिरेले प्रत्येक महिना उनलाई घरैमा गएर जाँच गर्ने, औषधि दिने र परिवारलाई काउन्सिलिङ गर्न थाले । यो क्रम १० महिनासम्म चलेपछि उहाँलाई साङ्लोबाट छुटाइएको छ, डा। घिमिरेले नागरिकसँग फोनमा भने अबको केही महिनापछि उहाँ सामान्य अवस्थामा फर्कने निश्चित छ । परिवारका अनुसार अहिले लक्ष्मी सामान्य झैं हिँडडुल गर्ने, बोल्ने , सरसफाईमा ध्यान दिने गर्न थालेकी छन् । डा घिमिरे वर्षदिन यता हरेक महिना लक्ष्मीको घरमा आउँछन् । अझै वर्ष दिनसम्म यो क्रम चल्नसक्ने उनले बताए । हामीलाई विश्वास नै लाग्दैन , यस्तो दिन पनि आयो लक्ष्मीका भाई अर्जुनले भने यस्तो रोग पनि निको हुँदो रहेछ । डाक्टर घिमिरे हाम्रो लागि भगवान भएर आउनुभयो ।

चिकित्सक घिमिरे चाहिँ आफूले विरामीप्रतिको दायित्व पूरा गरेको बताउँछन् । जनावरलाई चोट लाग्दा उनीहरुको अधिकारको पैरवी हाम्रो देशमा धेरै हुन्छु, उनले थपे तर, आर्थिक रुपमा कमजोर रहेका, चेतनाको अभावले पछि परेकाहरु पशुवत जिन्दगीमा छन् । उनीहरुको पक्षमा पनि सरकार वा अधिकारवादीहरु त्यसैगरी लागिदिए हुन्थ्यो ।

यो समाचार नागरिक दैनिकमा १२ चैत्र २०७२ का दिन छापिएको थियो । यसका लेखक राजु अधिकारी हुन् ।