भूइँचालोपछिको आपतकालीन अवस्थामा नेपालमा मानसिक स्वास्थ्यको स्थापना

लेखकहरु: एइडन सिलफेल्डमन र नवराज उपाध्याय

(यो लेख गत बर्ष नेपालमा भूईंचालो गए पछिका अनुभवहरुको श्रृंखलाकै एउटा भाग हो ।)

भूइँचालो गएपछिका महिनाहरुमा नेपालमा मानसिक स्वास्थ्यका विषयमा निकै नै चर्चा परिचर्चाहरु चलिरहेका छन् । ठीक यही बेला हामीले यस देशमा विपद्पछिको आघात व्यवस्थापनकालागि सरकारी, गैरसरकारी तथा दातृ निकायहरु धेरै नै क्रियाशील भएको पाएका छौं ।

शुरुका दिनमा उनिहरुका क्रियाकलाप प्राथमिक मनोसामाजिक स्वास्थ्य, रेडीयोमा जनचेतना अभिवृद्धि कार्यक्रम, आपतकालीन तथा मनोसामाजिक सहयोग सम्बन्धी हटलाइन संचालन र स्व हेरचाह तथा मनोसामाजिक विषयक् तालीम संचालन जस्ता विषयवस्तुहरुमा केन्द्रित रहे । यसै क्रममा हरेक हप्ता वा दश दिनपछि प्रभावित जिल्लाहरुमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक स्याहार सम्बन्धी एउटा क्लस्टर मिटिंग हुने गथ्र्यो जुन् संयुक्त राष्ट संघकै क्लस्टर प्रणालीको एउटा भाग थियो । यस्ता मिटिंगहरुमा मानसिक तथा मनोसामाजिक सहयोग सम्बन्धी विशिष्टता प्राप्त व्यक्तिहरुबाट कसरी प्रभावकारी ढंगले प्रभावित स्थानहरुमा आपतकालीन सहयोगहरु संयोजन गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्ने गर्दथे । यसका बावजुद पनि नेपालमा मनोसामाजिक स्वास्थ्य सम्बन्धी गतिविधिहरुको प्रभावकारी रुपमा संयोजन गर्नु र तिनमा एकरुपता कायम गर्नु आफैमा एउटा चुनौतीपूर्ण काम हुन गएको थियो किनकी दिनदिनै नयाँनयाँ संस्थाहरु यस क्षेत्रमा सहयोग गर्न भनेर आइरहेकै थिए भने पुराना संस्थाहरुले पनि आफ्ना गतिविधिहरु निकै नै बढाउँदै लगेका थिए ।

नेपाल सरकारसंग मानसिक स्वास्थ्य तथा मनोसामाजिक स्याहार सम्बन्धी नियमित तथा आपतकालीन कार्यक्रमहरु संचालन गर्न पर्याप्त मात्रामा पूर्वाधार र स्रोतसाधनको अभाव रहेको कारणले गर्दा विगत दुई दशकदेखि नै दातृ निकायको सहयोग प्राप्त गरेका गैर सरकारी संस्थाहरु स्थानीय रुपमा क्रियाशील रहंदै आएका थिए जसले विषयवस्तुसंग सम्बन्धित विशेषज्ञको सेवा, विभिन्न तालीम कार्यक्रमहरुको संचालनका साथै केन्द्रीय र स्थानीय स्तरमा पैरवीको काम पनि गर्दै आएका थिए (उपाध्याय तथा अन्य, २०१४) । १ सर्वप्रथम सन् १९९० को दशकमा नेपालमा मनोसामाजिक क्षेत्रमा गैर सरकारी संस्थाहरु लागी परेका हुन् जसले तत्कालीन जन आन्दोलन र त्यसपछिको माओवादी द्न्द्वका दौरान आघात तथा अत्याचारमा परेका मानिसहरुलाई मनोसामाजिक सहयोग सम्बन्धी सेवा पुर्याउने काम गरेका थिए । उक्त द्न्द्वका कारण तेरह हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो भने लाखौं मानिसहरु आन्तरिक रुपमा विस्थापित हुन पुगेका थिए । त्यसैबेला देखि नै नेपालमा गैर सरकारी संस्थाहरुले मानसिक स्वास्थ्य सम्बन्धी अध्ययन, अनुसंधान र जनमानसमा सेवा पुर्याउने कामहरु गरिरहेका छन्। देशमा व्याप्त राजनीतिक द्न्द्व र भुटानी शरणार्थीहरुको पुनस्र्थापन लगायत आपतकालीन अवस्थाहरु र बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक तथा मानव निर्मित प्रकोपको बेला थोरै भएपनि यी संस्थाहरुले मनोसामाजिक सीपहरुको माध्यमबाट मानिसहरुको घाउमा मलम लगाउने प्रयास गरेका थिए । यसै सन्दर्भमा केही गैर सरकारी संस्थाहरुले गरेको अध्ययनहरुले पनि नेपालमा मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवामा समेटिनु आवश्यक रहेको भनेर औंल्याएका छन् । भूइँचालो गएपछि यस्ता गैर सरकारी संस्थाहरुले नै आकस्मिक रुपमा नेपालमा मानसिक तथा मनोसामाजिक स्वास्थ्यको सेवा पुर्याउन अग्रणी भूमिका निर्वाह गरेका थिए ।

भूइँचालो पछिका दिनहरुमा नेपालमा राष्टिय अन्तर्राष्टिय संस्थाहरुको बढ्दो सक्रियतासंगै मानसिक स्वास्थ्य एउटा जनचासोको विषयका रुपमा देखापर्दै गएको छ । उदाहरणको लागि युनिसेफको संलग्नतामा रेडियो नेपालले “भन्दै सुन्दै” भन्ने कार्यक्रमका श्रृंखलाहरु प्रसारण गरेको थियो जसले स्रोताहरुमा तनावजनित मनोसामाजिक समस्याहरु सामना गर्न विभिन्न खाले सहयोग तथा सुझावहरु दिने जमर्को गरेको थियो । अझै पनि नेपालका दूरदराज गाउँहरुमा प्रभावकारी सुचना प्रवाहका लागि रेडियो नै एउटा सशक्त र उपयुक्त माध्यमको रुपमा रही आएको छ । भूइँचालो पछि पनि चाहे त्यो मोबाइल फोनमा भएको रेडियो होस् वा सौर्य ब्याटरी जडित रेडियो सेट, धेरै भन्दा धेरै मान्छेहरुले आघात र मनोसामाजिक समस्या तथा स्याहार सम्बन्धी प्रसारणहरु चाख मानेर सुनेको र प्रत्यक्ष रुपमा सहभागी भएको पाइयो । यस्ता कार्यक्रमहरु मार्फत् मनोविमर्शकर्ता तथा मनोचिकित्सकहरुले पनि विपद्को बेला मानिसहरुमा देखापर्ने “डर” र “त्रास” संग कसरी सामना गर्न सकिन्छ भन्ने विषयवस्तुमा केन्द्रित रहेर आफ्ना व्यवहारिक ज्ञानहरु बाँडेको पाइयो । कतिपय व्यक्तिहरुका लागि उनिहरुको जीवनमा मनोसामाजिक विषयवस्तुसंग यो नै पहिलो साक्षात्कार हुन पुगेको थियो ।

शायद अचानक रुपमा प्रस्तुत भएको भूइँचालो र त्यसको प्राकृतिक स्वरुपले हुनुपर्छ, नेपाली समाजमा व्याप्त मानसिक स्वास्थ्यसंग सम्बन्धी लाञ्छना कम हँदै गयो र एक दशक लामो सशस्त्र युद्धको समयमा पनि नीति निर्माता तथा दातृ निकायहरुबाट नपाएको प्राथमिकता मानसिक स्वास्थ्यले पायो । उत्साहजनक रुपमा धेरै भन्दा धेरै नयाँ तथा पुराना दातृ निकायहरु नेपालमा विपद्पछिको आघातलाई कम गर्न समुदायमा आधारित मनोसामाजिक सहयोग सम्बन्धी कार्यक्रमहरुमा सहयोग गर्न इच्छुक देखिए । अफगानिस्तान तथा वेस्ट ब्याङ्कमा विपद् पछि दातृ निकायहरुबाट भएको यस्तै खाले सहयोगहरुले एउटा कुरा प्रष्ट पार्छ, त्यो के भने नेपालजस्तो अतिकम विकसित देशहरुमा मानसिक स्वास्थ्य सम्बन्धी स्थाइ प्रकृतिको पूर्वाधार स्थापित गर्न विपद् पछिका यस्ता खाले सहयोगहरुले निकै ठूलो सघाउ पुर्याउन सक्छन् (डब्लु.एच.ओ., २०१३) । नेपालमा काम गर्ने दातृ निकाय तथा सरकारी नीति निर्माताहरुले दश लाख बराबर एक मनोचिकित्सक भएको र कुल स्वास्थ्य बजेटको एक प्रतिशतभन्दा पनि कम बजेट पाउने (डब्लु.एच.ओ. तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, २००६) साह्रै कमजोर मानसिक स्वास्थ्य प्रणालीलाई सुदृढिकरण गरी जनमानससम्म मानसिक स्वास्थ्य सेवाको पहुंच बढाउने अवसरको रुपमा लिन सक्छन् ।

अर्कोतर्फ भूइँचालो पछिका दिनहरुमा नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा भएका गतिविधिहरु र यसले ल्याएको अवसर तथा चुनौतीहरुको पनि यथार्थपरक् समीक्षा हुनु उत्तिकै जरुरी छ । यसै सन्दर्भमा डिडियर फासिनका (२०१३, १५) प्रश्नहरु सान्दर्भिक हुन आउँछन्। उनी भन्छन् “हाम्रो जस्तो समाजमा नीति निर्माणको तहमा विभिन्न खाले दाताहरुबाट पोषित मानवीय सहयोगहरुको भर पर्नुको अर्थ के रहन्छ ? यो कत्तिको जायज हुन्छ र यसले पुनः हाम्रो समाजमा कस्ता खाले विरोधाभासहरु निम्त्याउंछ ?” यसर्थ, मानसिक स्वास्थ्य सम्बन्धी अवधारणाहरु नेपाली समाज सुहाउँदो गरी कार्यान्वयन गरिनु र त्यसलाई एउटा भाषिक र सांष्कृतिक रुपले विविधतायुक्त देशमा समान ढंगले सबैका पहुँचमा पुर्याउन सक्नु पक्कै पनि निकै नै जटिल कार्य हो । सहायता समूहका बैठकरुबाट भूइँचालोबाट अति नै प्रभावित चौधवटा जिल्लाहरुमा उनिहरुका विविधतालाई सम्बोधन गर्दै सहयोग पुर्याउनु चुनौतीपुर्ण भएको छ । यस्तो अवस्थामा हामीले आफूलाई पनि एकपटक सोध्नै पर्ने हुन्छ कि दुःख, शोक र मृत्युसंग सम्बन्धित फरक फरक संस्कार भएका मान्छेहरुलाई आघातसंग सामना गर्न उनिहरुको भावना र आत्मसम्मानमा चोट नपुर्याइ कसरी सहायता गर्न सकिन्छ होला ? कसरी उचित तवरले मनोविमशकर्ता तथा सामुदायिक स्वास्थ्यकर्मीहरु विपद्पछि मानिसहरुले अनुभव गरेका अपूरणीय क्षति र त्यसले ल्याएका पीडाहरु सम्बोधन गर्न सक्षम हुनेछन् ?

नोट:

१. नेपालमा धामी झाक्रिजस्ता विविधतायुक्त परंपरागत स्याहार विधिहरुको लामो प्रचलन रही आएतापनि (हेर्नुहोस् : क्रेग २०१२, डेजरलाइस, १९९२), सन् उन्नाइस सय नब्बेको दशकसम्म मनोसामाजिक विधि चर्चा र प्रयोगमा आएको थिएन ।

यो लेख १४ अक्टोबर २०१५ का दिन कल्चरल एन्थ्रोपोलोजीको http://www.culanth.org/fieldsights/736-mental-health-after-the-earthquake-building-nepal-s-mental-health-system-in-times-of-emergency नामक वेबपेजमा छापिएको अंगे्रजी लेखलाई अनुवाद गरेर तयार पारिएको हो । यसलाई विशुद्ध गैर नाफामूलक गैर व्यवसायिक उद्येश्यका साथ सकेसम्म जस्ताको तस्तै उल्था गरी प्रकाशित गरिएको हो । यसको सर्वाधिकार प्रकाशक तथा लेखकहरुमै अन्तर्निहीत रहने छ - © 2016 American Anthropological Association । यसको नेपाली अनुवाद दिपेश उपाध्यायले गरेका हुन् जो नेपालको मनोसामाजिक क्षेत्रमा काम गर्ने एक गैर सरकारी संस्थामा कार्यरत छन् ।

यस लेखलाई निम्नानुसार उद्धृत गर्न सकिन्छ : Seale-Feldman, Aidan and Upadhaya, Nawaraj."Mental Health after the Earthquake: Building Nepal’s Mental Health System in Times of Emergency." Hot Spots, Cultural Anthropologywebsite, October 14, 2015. http://www.culanth.org/fieldsights/736-mental-health-after-the-earthquake-building-nepal-s-mental-health-system-in-times-of-emergency

References

  • Craig, Sienna R. 2012. Healing Elements: Efficacy and the Social Ecologies of Tibetan Medicine. Berkeley: University of California Press.
  • Desjarlais, Robert R. 1992. Body and Emotion: The Aesthetics of Illness andHealing in the Nepal Himalayas. Philadelphia: University of Pennsylvania Press.
  • Fassin, Didier. 2013. “The Predicament of Humanitarianism.” Qui Parle: Critical Humanities and Social Sciences 22, no. 1: 33–48.
  • Upadhaya, Nawaraj, Nagendra P. Luitel, Suraj Koirala, Ramesh P. Adhikari, Dristy Gurung, Pragya Shrestha, Wietse A. Tol, Brandon A. Kohrt, and Mark J. D. Jordans. 2014. “The Role of Mental Health and Psychosocial Support Nongovernmental Organisations: Reflections from Post Conflict Nepal.” Intervention: Journal of Mental Health and Psychosocial Support inConflict-Affected Areas 12, no. 1: 113–28.
  • World Health Organization (WHO). 2013. “ Building Back Better: Sustainable Mental Health Care after Emergencies.”
  • _____, and Ministry of Health and Population Nepal. 2006. “ WHO–AIMS Report on Mental Health System in Nepal.” © 2016 American Anthropological Association

View source >>